सिनेसुत्र, बिराटनगर- आज शुक्रबारबाट सिनेमा ‘परालको आगो’ प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि नै दर्शकको उल्लेखनीय उपस्थितिका कारण हलहरू भरिभराउ देखिएका छन्। सिनेमा देशभर करिब डेढ सयभन्दा बढी शोसहित प्रदर्शनमा आएको हो। दर्शकको उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले सिनेमा ‘परालको आगो’लाई उच्च संख्यामा शो दिएका छन्।
सिनेमाका निर्माता सुशील पोखरेलका अनुसार अधिकांश हलहरू हाउफुल रहेका छन्। निर्माण टिम पनि शुक्रबार बिहानैदेखि विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। १३५ मिनेट रनटाइम रहेको यस सिनेमाले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो सिनेमा प्रसिद्ध साहित्यकार गुरु प्रसाद मैनाली को अमर कृति ‘परालको आगो’मा आधारित रहेको छ, जसले दर्शकमाझ थप चासो बढाएको देखिन्छ।
सिनेमा ‘परालको आगो’मा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस सिनेमामा लगानी सुशील पोखरेलले गरेका छन्। सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।
यसैगरी, सिनेमाको टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले तयार पारेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस सिनेमा ‘परालको आगो’को नेपालभर वितरण आर आर फिल्म्सले गरिरहेको छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।