सिनेसुत्र, बिराटनगर- आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । गीतमा प्रकाश सपूतको शब्द र सङ्गीत रहेको छ ।
सार्वजनिक गीतमा सिनेमाकी मुख्यपात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन् । गीतमा नारी सुन्दरताको बयान गरिएको छ । गीतको केन्द्रमा स्वस्तिमा छिन् । गीतलाई टिकटक, फेसबुक रील्स र युट्युब शर्ट्समा प्रयोग गर्न थालिएको छ ।
गीतको फुल भर्सन भने सिनेमा सँगै आगामी वैशाख १८ देखि हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ । यस्तै, गत वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली सिनेमा ‘लालीबजार’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रशंसा गरिरहेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको सिनेमा ‘लालीबजार’ को ट्रेलर सार्वजनिक भएदेखि नै युट्युब ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो ।
हाल ट्रेलर मुभी चार्टतर्फ नम्बर २ मा रहेको छ । स्वस्तिमासँगै ट्रेलरमा देखिएका रवीन्द्र सिंह बानियाँ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटाको कामलाई पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । सिनेमा आमा-छोरीको कथामा आधारित छ भने बादी समुदायमा चलेको नाथिया जस्तो कु-प्रथालाई ट्रेलरमा देखाइएको छ ।
छोरी रक्षाका लागि आमाले गर्ने संघर्षलाई सिनेमा ‘लालीबजार’ को ट्रेलरमा प्रस्तुत गरिएको छ । सिनेमामा स्वस्तिमा आमाको भूमिकामा छिन् । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्र सिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले जात्रा , जात्रै जात्रा, महापुरुष र महाजात्रा जस्ता सफल सिनेमा निर्माण गरिसकेको छ । यद्यपि, आगामी सिनेमा ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।
निर्देशक थापाले ‘रज्जा रानी, हुर्रे, मेरी मामु जस्ता विषयप्रधान सिनेमा निर्देशन गरिसकेका छन् भने कोहिनूर, अञ्जिला, परान लगायतका सिनेमाको पटकथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रममा निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो । सिनेमाको पटकथा लगभग फाइनल भएपछि छायांकन स्थल भिजिटका क्रममा निर्देशक भट्टराईले नै सिनेमाको नाम ‘लालीबजार’ राख्न प्रस्ताव गरेका थिए, जसमा सबै सहमत भए । निर्देशक थापाले आमा-छोरीको कथामा सिनेमा तयार भएको बताएका छन् ।
सिनेमाको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाइसकेका छन् । दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शर्ट्समा लोकप्रिय भइसकेका छन् । सिनेमा ‘लालीबजार’ को प्रदर्शन मिति विसं २०८३ वैशाख १८ गते तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।
यसै सिनेमामार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थिएटरमा अभिनेता तथा निर्देशकका रूपमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेन-जी अभिनेताका रूपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको सिनेमा ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । सिनेमाको ट्रेलर षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ निर्माता रहेका छन् । सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ ।