सिनेसुत्र, बिराटनगर- पल शाहको मुख्य भूमिकामा रहने सिनेमा ‘आ आमा २’को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा सिनेमाको शुभमुहूर्त गरेको हो। सोमबार पारेर निर्माण टिमले सिनेमाको स्क्रिप्ट पूजा-अर्चना गर्दै कामलाई अगाडि बढाएको हो। अघिल्लो वर्षको सुपरहिट सिनेमा ‘आ बाट आमा’कै सिक्वेल हो यो। यसै सिनेमाका केही कलाकारहरू भाग २ मा पनि निरन्तरता पाएका छन्। अघिल्ला सिनेमाका कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित बिष्ट लगायतका कलाकारहरू दोहोरिएका छन्।
यस सिनेमामा पल शाह, विपना थापा, प्रदीप रावत, गजित बिष्टका अलावा आकाश श्रेष्ठ र नरेन खड्का जोडिएका छन्। यस सिनेमामा अभिनेत्रीहरू भने छनोट हुन बाँकी रहेका छन्। साथै अन्य कलाकारहरूको छनोट कार्य भइरहेको निर्देशक चन्द्र पन्तले बताए। उनका अनुसार केही दिनमै यस सिनेमाका सम्पूर्ण कलाकारहरू छनोट गरिसकिनेछ।
निर्देशक पन्तले यो सिनेमाको छायांकन तालिका केही दिनमै टुंगो लाग्ने बताए। अहिले यस सिनेमाका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको जानकारी दिए। निर्माण टिमले एक महिनाअघिबाट नै यो सिनेमा आगामी दसैंमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो। निर्देशक पन्तले यो सिनेमा दसैंमै हलमा लाग्ने बताए।
यस सिनेमाको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ। सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यस सिनेमाको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।
