टंकको ‘मन विनाको धन २’मा विपिन कार्कीको प्रवेश : सिनेमाको लाइनअप थप बलियो

0 Shares

सिनेसुत्र, बिराटनगर- चाँडै नै छायांकनमा जान लागेको सिनेमा ‘मन विनाको धन २’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पछिल्लो समयका व्यस्त तथा उच्च माग भएका अभिनेतामध्ये एक विपिनको प्रवेशसँगै सिनेमाको कलाकार लाइनअप थप बलियो बनेको छ। यद्यपि, सिनेमामा उनको भूमिका कस्तो रहनेछ भन्ने विषयमा निर्माण पक्षले हालसम्म खुलाएको छैन।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा टंक बुढाथोकीको कथा तथा निर्देशन रहनेछ भने शिवम् अधिकारीले पटकथा लेखन गरेका छन्। निर्माण टिमका अनुसार सिनेमाको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

यसअघि नै अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी तथा कलाकार सरोज खनाल र किरण केसी सिनेमामा फाइनल भइसकेका छन्। पूजा शर्मा र विपिन कार्की पहिलोपटक एउटै सिनेमामा देखिन लागेकाले उनीहरूको अनस्क्रिन केमिस्ट्रीलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ।सामाजिक कथावस्तुमा आधारित यो सिनेमामा विपिनको प्रवेशपछि निर्देशक टंक बुढाथोकी उत्साहित देखिएका छन्। उनले केही सातादेखि विपिनसँग छलफल भइरहेको र कथावस्तुप्रति उनी निकै सकारात्मक रहेको बताए। निर्देशकका अनुसार दर्शकले विपिनलाई यस सिनेमामा नयाँ अवतारमा देख्न पाउनेछन्।

गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। पहिलो भागको सफलतापछि निर्माण टिमले ‘मन विनाको धन २’लाई अझ सशक्त र प्रभावशाली बनाउने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचारसबै