सिनेसुत्र, बिराटनगर- आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘हली’ को निर्माण टिम व्यापक प्रचारप्रसारमा लागेको छ। निर्माण टिमले असार १५ गतेदेखि आफ्नो सिनेमाको प्रचार अभियानलाई तीव्र बनाएको हो। यतिबेला सिनेमाका अभिनेता प्रमोद दीप, अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठलगायतको टोली काठमाडौंका विभिन्न स्कुल तथा कलेजमा पुगेर सिनेमाको प्रचार गरिरहेको छ।
सिनेमाको मुख्य विषयवस्तु किसानको कथामा आधारित भएकाले प्रचार अभियानलाई अझ व्यापक बनाइएको निर्माण टिमले जनाएको छ। कलाकारदेखि निर्मातासम्म प्रत्यक्ष रूपमा प्रचारमा सहभागी भइरहेका छन्।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमा ‘हली’ ले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सशक्त सन्देश बोकेको छ। ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यस सिनेमामा पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानी रहेको छ। सिनेमामा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको मुख्य भूमिका रहेको छ।
यस सिनेमाको विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष उपस्थिति रहेको छ। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने सिनेमाका अन्य गीतमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।
कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको सिनेमालाई राहुल राईले छायाङ्कन गरेका हुन्। सिनेमाको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।
वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको सिनेमाका गीतमा निर्मात्री जस्मिन श्रेष्ठको शब्द रचना पनि रहेको छ। सिनेमामा बाबुल गिरीको सङ्गीत र गायनसँगै महिला स्वरमा शान्तिश्री परियारको स्वर रहेको छ। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
