सिनेसुत्र, बिराटनगर- बहुप्रतिक्षित नेपाली सिनेमा ‘हली’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ। नेपालसँगै माल्दिभ्सका सिनेमा घरहरूमा पनि आजैबाट एकसाथ रिलिज भएको यो सिनेमाले प्रदर्शनको पहिलो दिनदेखि नै उत्साहजनक प्रतिक्रिया पाएको छ। बिहानैदेखि देशभरका अधिकांश हलहरूमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ भने धेरै शोहरू हाउसफुल भएका छन्।
छाउपडी प्रथाजस्तो संवेदनशील सामाजिक विषयवस्तुमा आधारित यो सिनेमा विदेशमा पनि प्रदर्शनको तयारीमा छ। निर्माण टिमका अनुसार अगस्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा बेलायत (यूके) र अक्टोबर ११ मा हङकङमा सिनेमा प्रदर्शन गरिनेछ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको सिनेमा जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेका हुन्। पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माता रहेको यस सिनेमाका कार्यकारी निर्माता अर्जुन भुसाल हुन्।
सिनेमामा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुत गरेका छन्।
सिनेमामा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीतले पनि दर्शकको ध्यान तानेको छ। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको सिनेमालाई नेशनल सिने ग्रुपले वितरण गरेको हो। यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
