सिनेसुत्र, बिराटनगर- झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब सिनेमा वृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने सिनेमा ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् ।
कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन् । आफूले चिनेका एक भाईमार्फत जीवन उनको सम्पर्कमा पुगेका थिए ।
‘त्यो भाईले एउटा राम्रो स्क्रिप्ट छ, सिनेमा बनाउनुपर्यो दाई भनेर आउनुभयो । मैले सुरुमा वास्ता गरिन्, तर दुई तीन पटक नै आएपछि जीवनजीको सिनेमा प्रतिको लगाव, माया र उहाँले मेरो लागि सिनेमा नै सबैथोक हो, सिनेमा बाटै आफ्नो लगानी र क्यारियरलाई बलियो र सुरक्षित बनाउनेछु भनेपछि उहाँको लगावप्रति म नतमस्तक भएँ । अनि सिनेमा बनाउन सहमत भएँ’, दीपक भन्छन् । दीपकले निर्देशक जीवनले सिनेमा पूर्ण रुपमा बाल विवाहलाई केन्द्रीत गरेर निर्माण गर्ने बताएपछि सिनेमा निर्माणमा इच्छुक भएको बताए ।
दीपकले सिनेमा को स्क्रिप्ट पुरा पढेका रहेनछन् । ‘म स्क्रिप्ट भन्दा पनि जीवनजीको आत्मविश्वासमा सहमत भएँ । बिहानदेखि बेलुकासम्म सिनेमा कै लागि लागेको मान्छेले पक्कै केही गर्छ भन्ने मलाई लाग्यो । मलाई सिनेमा उद्योगमा छिर्नु नै थियो । त्यसमाथि जीवनजीजस्तो आत्मविश्वासले भरिएको निर्देशक भेटेपछि मैले यही अवसर रोजें’, दीपक खुल्छन् ।
सिनेमा निर्माण गर्ने निर्णय लिएपछि उनले गोदावरी सिनेमा प्रोडक्सन एण्ड रिसर्च प्रालि नामक कम्पनी दर्ता गरे । त्यही कम्पनीमार्फत उनले ‘जुनाः एक व्यथा’ निर्माण गरेका हुन् । सामाजिक सन्देशका सिनेमा मा चासो राख्ने दीपक त्यस्तै सन्देशमूलक सिनेमा कम्पनीमार्फत अझ बढी बनाउन चाहन्छन् ।
दीपकका अनुसार जीवनले सिनेमा बनेपछि स्कुल, गाउँपालिका, नगरपालिकामा विशेष शो गर्न सकिने र अन्तर्राष्ट्रिय बजारमा पनि लैजान सकिने भन्दै ‘कन्भिन्स’ गरेका रहेछन् । ‘शिक्षा मन्त्रालयमा हामीले सिनेमा देखाएका थियौं । त्यहाँ मैले पुरा सिनेमा हेरें । त्यो सिनेमा पछि मात्र मैले जीवनजीलाई पूर्ण रुपमा चिनें । किनकी सिनेमा मैले सोचेभन्दा राम्रो बनाउनुभएको रहेछ । सिनेमा हेरेपछि मात्र मेरो डर हट्यो । किनकी जीवनजी र भौगोलिक हिसाबले पनि फरक स्थानको भएकाले पनि के हुने हो भन्ने डर थियो’, उनी भन्छन् ।
सिनेमा सँग जोडिने भनेको कलाकार अर्थात् स्टारडम नै हो । सिनेमा ‘जुनाः एक व्यथा’का केही कलाकारबाहेक अधिकांश अनुहार नयाँ नै छन् । ‘स्टारडमसँगै व्यावसायिक सिनेमा आउन थाले । त्यसकारण पनि हामीलाई सिनेमा रिलिज गर्न केही समय गाह्रो भयो । हामीले त कन्टेन्टमा आधारित सिनेमा बनाएका थियौं । त्यसपछि परीक्षणका रुपमा गाउँपालिका, नगरपालिका र स्कुलमा विशेष शो गर्यौ । त्यहाँको शोले अत्यन्तै राम्रो प्रतिक्रिया पायौं । सिनेमा ले दर्शकलाई भावुक बनाएपछि सिनेमा सफल हुन्छ भन्नेमा ढुक्क भयौं’, दीपक भन्छन् । ग्रासरुटका कलाकार लिएर सिनेमा बनाएकाले पनि दीपक सिनेमा ‘जुनाः एक व्यथा’लाई प्राकृतिक सिनेमा भन्छन् ।
दीपक ‘जुनाः एक व्यथा’लाई ४५ वर्षदेखि ७० वर्ष उमेर समूहका आमाहरुको कथा भन्न रुचाउँछन् । ‘मेरी आमाले १४ वर्षको उमेरमा मलाई जन्म दिनुभयो । जुनाको कथाजस्तै बाल विवाह पछि म जन्मिएँ । जुनाः एक व्यथा सबै आमाको कथा हो’, उनी भन्छन्, ‘सिनेमा हेरेपछि बच्चाहरुले बाल विवाह गर्नु हुँदैन र कतिपयले विवाह नै गर्न नहुने रहेछ भन्ने सम्म सोच्न सक्छन् । नारीमाथि बाल विवाहको कारण हिंसा हुनु, अन्याय हुनु पीडादायी हो । त्यो पीडा सिनेमा मा छ । यो सिनेमा ले हरेक उमेर समूहलाई छुन्छ ।’
दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको सिनेमा ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

