सुहानाको नजरमा ‘बा: एक योद्धा’ किन विशेष छ ? भनिन् -‘आफ्नै कथाजस्तो लाग्छ’

0 Shares

सिनेसुत्र, बिराटनगर- नायिका सुहाना थापाले सिनेमा ‘बा: एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने सिनेमा ‘बा : एक योद्धा’ हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी छन् । यो सिनेमा र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा-आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन् ।

हामी सबैलाई हाम्रो बाबा-आमाले हाम्रा लागि गरेको सेक्रिफाइज (सम्झौता) याद हुन्छ । तर, हामी त्यसलाई बाबा-आमाका अगाडि खुलेर भन्न सक्दैनौँ, सुहाना भन्छिन्, मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सेक्रिफाइज गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ ।

सिनेमामा केही रमाइलो र कनेक्ट गर्ने कुरा रहेको भन्दै सबैलाई सिनेमा मनपर्ने सुहानाको विश्वास छ । दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र बाँधेर राख्ने भएकाले ‘बा: एक योद्धा’ हेर्न उनको आग्रह छ ।भदौ १९ गते रिलिज हुने ‘बा: एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

यो सिनेमामा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बा: एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बा: एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

सिनेमा ‘बा: एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा: एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

सम्बन्धित समाचारसबै