सिनेसुत्र, बिराटनगर-असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’ दोस्रो हप्तामा प्रवेश गरेको छ।
निर्माण पक्षले दोस्रो हप्ता आइतबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गर्दै, सिनेमाले ३ करोड २५ लाखको ग्रस कलेक्सन गरेको खुलासा गरेको छ।
यो आँकडा काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त कलेक्सन हो।
सिनेमाको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ।
वितरकका अनुसार, ‘ज्वाइँ साब’ ले पहिलो सातामै दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाउँदै उल्लेखनीय व्यवसाय गरेको छ।
यो सिनेमा राजकुमार पण्डितको प्रस्तुति हो भने वसन्त निरौलाले निर्देशन गरेका हुन्।
यसमा मुख्य कलाकारका रूपमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

रेड आइ फिल्मसको ब्यानरमा बनेको यस सिनेमामा समिर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङको लगानी छ भने विजय बस्याल कार्यकारी निर्माता हुन्। सिनेमामा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीतले थप आकर्षण प्रदान गरेको छ।