प्रेम कि षड्यन्त्र? सृष्टिले नाजिरलाई किन अपहरण गरिन्? ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर – सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ।
यो टिजरमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथालाई केन्द्रमा राखिएको छ, जहाँ उनीहरूको प्रेममा आउने उतारचढाव र संघर्षलाई विशेष रुपमा प्रस्तुत गरिएको छ।
पहिलो टिजरले जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई सशक्त ढंगले समेटेको छ।दोस्रो टिजरमा, नाजिर र सृष्टिको सम्बन्ध झन् गहिरिँदै जाँदा थप संघर्ष र जटिल मोडहरू देखाइएका छन्।
अन्त्यमा सृष्टिले नाजिरलाई अपहरण गरेको दृश्यले दर्शकलाई चकित बनाउँछ, किनभने पहिलो टिजरमा यसको ठ्याक्कै उल्टो दृश्य थियो, जहाँ नाजिरले सृष्टिलाई अपहरण गरेको देखाइएको थियो। यस प्रकारको अनपेक्षित मोडले दर्शकहरूलाई अझै जिज्ञासु बनाएको छ, जसले सिनेमा प्रतिक्षितको सूचीमा अग्रस्थानमा उभिएको छ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनयले दर्शकलाई नयाँ किसिमको रोमान्स र रहस्यको मिश्रणमा डुबाउने आशा गरिएको छ।
कात्तिक ३० मा प्रदर्शन हुने सिनेमालाइ दीपेन्द्र गौचनले निर्देशन गरेका छन् । निर्देशक गौचनले यस अघि ‘उजेली’ जस्तो ऐतिहासिक डकु-ड्रामा निर्देशन गरिसकेका छन् । उक्त सिनेमाको निर्देशन संगै गौचनले सिनेमाको कथा र लेखन पनि गरेका छन् ।

सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल लगायतका कलाकारहरूको अभिनय रहेको छ भने अमितेष शाहले विशेष भूमिका निर्वाह गरेका छन्।सिनेमाको निर्माण पक्षलाई ट्राई सिटी पिक्चर्सले सम्हालेको छ, र नकिम उद्दिन कार्यकारी निर्माता रहेका छन्। अन्य निर्माता र सह-निर्माताहरूमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।
चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

सम्बन्धित समाचारसबै