अञ्जना बन्ने विजयको दुलही कि विजय बन्ने अञ्जनाको हली ? ‘पूर्ण बहादुरको सारङ्गी’ रैया चाँदीको’ गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर – कात्तिक १५ गते रिलिज हुने नेपाली सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ।
निर्माण टिमले बिहीबार सार्वजनिक गरेको यो गीत ‘दोहोरी ब्याटल’को शैलीमा तयार पारिएको छ।
सिनेमाको ब्याटल गीतको भिडियोमा महिला र पुरुषको दुई टिम रहेका छन्। सर्तअनुसार, यदि महिला टिमले जिते विजय बराललाई अञ्जना बराइलीको घरमा हली बन्नुपर्नेछ, भने पुरुष टिमले जिते अञ्जना बराइलीले विजयसँग बिहे गर्नुपर्नेछ।ब्याटलमा प्रेम, विवाह, परिवार, र सामाजिक पक्षलाई समेटिएको छ। रोचक कुरा त के भने, ब्याटलमा अञ्जना जानाजान हार्न खोजेजस्तो देखिन्छ।
गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, र अञ्जना बराइलीको दमदार प्रस्तुति देख्न पाइन्छ ।
निर्माण पक्षले गीतमा ‘दोहोरी ब्याटल’को नयाँपन थपेर दर्शकलाई फरक अनुभव दिन खोजेको छ।
गीतमा आशिष अभिरल र मेलिना राईको आवाज सुन्न सकिन्छ भने ,नवराज पन्तले लेखेको शब्दमा आशिषकै संगीत रहेको छ।

यसअघि सार्वजनिक भएको सिनेमाको ट्रेलरले दर्शकको ध्यान तानेको छ। ट्रेलरमा गन्दर्भ समुदायको जीवन, प्रेम, बिछोड, दुःख, र सामाजिक चुनौतीहरू प्रस्तुत गरिएको छ।
समाजले गन्दर्भ समुदायलाई कसरी तल्लो स्थानमा राखेको छ भन्ने कुरा पनि ट्रेलरले उजागर गर्छ।

सरोज पौडेलको कथा र निर्देशनमा बनेको यो सिनेमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत लगायतका कलाकारहरूको उत्कृष्ट अभिनयले भरिपूर्ण छ। बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, र अन्य कलाकारहरूले सिनेमालाई अझ सशक्त बनाएका छन्।सेभेन सिज सिनेमा र बासुरी फिल्मसको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको छ।

सिनेमाको संगीत प्रशान्त शिवाकोटीले दिएका छन्, जसमा सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका छन् ।

सम्बन्धित समाचारसबै