सिनेसुत्र, बिराटनगर – नेपाली सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई गम्भीर भावमा देखाइएको छ।

यसअघि सार्वजनिक पहिलो पोस्टरमा हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई यस पटक फरक मुडमा प्रस्तुत गरिएको छ। उनीहरूलाई सामान्य पहिरनमा प्रस्तुत गरिएको छ। पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा “बजारमा अनौठो परिवेशको नयाँ सिनेमा” शीर्षकको समाचार देखिन्छ, जसमा लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम उल्लेख गरिएको छ। साथै, पोस्टरमा “देशमा हतियार तस्करी फस्टाउँदै” लगायतका अन्य समाचार शीर्षकहरू पनि छन्।
यस सिनेमा कार्तिक ३० गते रिलिज हुने तय भएको छ। यसअघि सार्वजनिक गीत, टिजर र पोस्टरले बजारमा छुट्टै हाइप बनाइसकेको छ। सिनेमा ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। उनी आफैंले लेखेको कथामा निर्माण पनि उनकै हो।
यस सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी लगायतका कलाकारहरूको पनि अभिनय छ। अमितेष शाहले विशेष भूमिका निभाएका छन्। ‘मिसिङः केटी हराएको सूचना’ ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा अन्य सह-निर्माताहरू पनि छन्।
सिनेमाको गीत र संगीतको संयोजनमा प्रवेश मल्लिक, करुण थापा र दीपेन्द्र गौचनले काम गरेका छन् भने कोरियोग्राफी राजीव कर्णले गरेका छन्।सिनेमा एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।