हरर र कमेडीको फ्युजन : ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर – हरर-कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’ को ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ, जसले दर्शकलाई डर संगै पेट मिचेर हाँस्न बाध्य पार्ने देखिएको छ । उक्त ट्रेलरमा गाउँमा रमाएर बसेका ४ युवकहरूको दैनिकीमा अचानक एक रहस्यमय युवतीको आगमनसँगै उत्पन्न हुने हास्य र रोमाञ्चक घटनाक्रमलाई देखाइएको छ।ट्रेलरको अन्तिम भागमा युवतीलाई भूतको रूपमा प्रस्तुत गरिएको छ । यस्तो लाग्छ, यसले परम्परागत हरर-कमेडीलाई नयाँ ट्विस्ट दिनेछ। छठ पर्वको अवसर पारेर, यो सिनेमा कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ, जसको निर्देशन नविन भट्टले गरेका छन्।

सिनेमामा कलाकारहरू सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, र पुष्प अवस्थी लगायतको उपस्थिति रहेको छ। विशेष कुरा त के हो भने, निर्देशक नविन भट्ट र सन्दीप श्रेष्ठले मिलेर यस सिनेमाको स्क्रिप्ट तयार पारेका छन् ।सिनेमा निर्माणमा १५ वर्षपछि फर्किएका निर्माता मनोजकुमार अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका छन्। ‘फिरफिरे फिरिरी’ मा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत, र अनन्त घिमिरेको सम्पादन समावेश गरिएको छ। यो सिनेमा बिन्दबासिनी क्रियसनको ब्यानरमा बनेको हो, जसलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ।

यस पटकको ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई नयाँ शैलीको हरर-कमेडी अनुभव दिने पक्का देखिन्छ।

सम्बन्धित समाचारसबै