‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दीमा एकसाथ रिलिज हुने, विदेश राइट्स सेभेन सिजलाई बिक्रि

0 Shares

सिनेसुत्र, बिराटनगर – अभिनेत्री नीता ढुंगानाको विशेष लगानीमा बनेको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दी भाषामा एकसाथ नेपालमा रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश अधिकार हस्तान्तरण गर्दै नेपालमा कार्तिक ३० गते यो सिनेमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने जानकारी गराएको हो।

विदेशमा भने सिनेमा मंसिर ७ गतेबाट नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ। सेभेन सिज इन्टरटेनमेन्टले सिनेमाको विदेशी हिन्दी रिलिज अधिकार पनि खरिद गरेको छ। कम्पनीका सञ्चालक विनोद पौडेलका अनुसार, विदेशमा बक्सअफिसमा नै रिलिज गर्ने योजना रहेको छ।यसको अतिरिक्त, नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पछि ‘ह्रस्व दीर्घ’ तेलुगु भाषामा पनि रिलिज हुने तयारी गरिएको छ। अभिनेता हरिहर अधिकारीले भारतका दर्शकहरूको विशेष मागलाई मध्यनजर गर्दै तेलुगु संस्करणको योजना बनाइएको जानकारी दिएका छन्। अधिकारीले भारतीय वितरकहरूले पनि सिनेमामा रुचि देखाएको बताउँदै भारतीय बजारमा विशेष प्राथमिकताका साथ रिलिजको तयारी भइरहेको जनाए।

सिनेमा ट्रेलर हेर्नुहोस :

धनन्जय गलानीको कार्यकारी निर्माणमा बनेको यो सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा र संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहर अधिकारीको सहकार्यमा तयार पारिएको हो। ख्यातिप्राप्त बलिउड सिनेमाटोग्राफर कवीरलालले सिनेमाको छायांकन गरेका छन्, जसले यसलाई विशेष आकर्षण दिएको छ।यो सिनेमा चन्द्र पन्तको निर्देशनमा तयार भएको हो, जो यसअघि भोजपुरी सिनेमामा निर्देशन गरिसकेका र पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशनको अनुभव बोकेका छन्। यो उनको नेपाली सिनेमा निर्देशनको पहिलो प्रयास हो। सिनेमा नेपालमा मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै