बिराटनगर, सिनेसुत्र – कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित सिनेमा निर्माण हुने भएको छ। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।

सिनेमाका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन्। निर्माता पोखरेलका अनुसार सिनेमा २०८२ सालको दशैंमा प्रदर्शन हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा निर्माण गरेका थिए।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण, र पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागेको बताएका छन्। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने सिनेमा फागुनदेखि छायांकनमा जानेछ भने निर्माण पक्षले कलाकारहरूको फाइनल घोषणा अझै बाँकी रहेको जनाएको छ।

‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ। निर्माता पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’, र ‘यात्रा’ जस्ता सिनेमा निर्माण गरिसकेका छन्।