‘ज्वाइँ साप’ नेपालको सफलतापछि अब सिड्नीमा, नोभेम्बर २२ बाट अष्ट्रेलियन पर्दामा

0 Shares

बिराटनगर, सिनेसुत्र – नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको सिनेमा ‘ज्वाइँ साप’ यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ। जितु नेपाल र निती शाह मुख्य भूमिकामा रहेको यो सिनेमा सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा प्रदर्शन गर्न लागिएको हो।

वसन्त निरौला निर्देशित यस सिनेमालाई सिड्नीमा पाल्पा इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको छ। नेपालमा राम्रो समीक्षासहित लगानी उठाउन सफल भएको यो सिनेमालाई सिड्नीका दर्शकहरूले माग गरेपछि प्रदर्शन गर्न लागिएको पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठले जानकारी दिए। साथै, अन्य सहरहरूमा पनि प्रदर्शनको तयारी भइरहेको उनले उल्लेख गरे।राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो सिनेमामा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, र इशान राउतजस्ता कलाकारहरूको अभिनय रहेको छ।

रेड आइ फिल्म्सको व्यानरमा निर्माण भएको यस सिनेमामा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ भने विजय बस्याल कार्यकारी निर्माता हुन्। शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ।

यो सिनेमा नेपालमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनीमार्फत वितरण गरिएको थियो। सिड्नीमा ‘ज्वाइँ साप’को प्रदर्शनले त्यहाँका दर्शकहरूको मनोरञ्जनमा नयाँ रंग थप्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै