

सिनेसुत्र, बिराटनगर- कलाकार जितु नेपाललाई अभिनयमा नयाँ मानिँदैन, तर सिनेमा क्षेत्रमा ‘हिरो’ को रूपमा भने उनको भर्खरै उदय हुदै छ ।
उनले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेको सिनेमा ‘ह्यारी कि प्यारी’पछि आउँदै गरेको अर्को प्रोजेक्ट, असोज २४ गते फूलपातीको दिन रिलिज हुन लागेको सिनेमा ‘ज्वाइँ साब’ मा नायिका निती शाहको जोडी बनेर प्रस्तुत हुन लागेका छन्।
सिनेमा ‘ज्वाइँ साब’ मा जितुको सहभागीता एक रोचक मोड हो। उनले भने अनुसार, यो दोस्रो प्रस्ताव थियो जुन अन्ततः उनले स्वीकारे। “पहिले नै सिनेमा का लागि कुरा भएको थियो, स्क्रिप्ट पनि पढेको थिएँ। तर अन्य व्यस्तताका कारण त्यस समयमा सामेल हुन सकिनँ,” जितुले सम्झिए। तर, पछि लेखक शंकर धितालले फेरि संपर्क गरेपछि नयाँ स्क्रिप्ट पढेर उनी सिनेमा मा जोडिए। “पहिलेको स्क्रिप्टभन्दा अहिलेकोमा धेरै परिवर्तन भएको रहेछ, निर्माता पनि परिवर्तन भएका रहेछन्,” उनले भने।
जितुले यो सिनेमाको कथा पहिलो पटक पढ्दा बुझ्न सकेनन्, तर दोस्रो पटकको स्क्रिप्टले उनलाई प्रभावित बनायो। “पहिला झण्डै ७ महिनाको ग्याप भयो, तर अहिले सिनेमा बन्न पुगेको छ,” उनी भन्छन्। उनले आफ्नो चरित्रलाई रमाइलो बताउँदै, सिनेमा दर्शकलाई आकर्षक हुने विश्वास व्यक्त गरे।
‘ज्वाइँ साब’को टिजर र गीतहरूमा उनलाई बेहुलाको रूपमा देखाइएको छ, जुन आफ्नै लागि नौलो अनुभव भएको उनले बताए। “साधारणतया दुलही बेहुलाको घरमा जान्छिन्, तर यसमा ठीक उल्टो देखाइएको छ। धेरै रोचक पाटाहरू पनि छन्,” उनले थपे।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको एक दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। त्यस दृश्यमा सेतो पहिरनमा हातमा पासपोर्ट र नानी बोकेका भावुक जितु देखिन्छन् भने नायिका निती शाह नेपाली झण्डा समातेको भाबुक क्लिप भाइरल बनेको थियो। यो दृश्यलाई धेरैले प्रमोशनको तरिका मानेका थिए, तर जितुले त्यसलाई अस्वीकार गर्दै सिनेमा का लागि मात्र दृश्य खिचिएको बताए।
सिनेमा ‘ज्वाइँ साब’को प्रमुख पात्र उनलाई अत्यन्त मन परेको छ। उनले यो सिनेमा फरक खालको रहेको बताउँदै दर्शकलाई मनोरञ्जन लिन आग्रह गरेका छन्। “सिनेमा हाम्रो घर–परिवारका घटनाक्रमसँग सम्बन्धित छ। एकैछिनका लागि दुःख भुलाउन र मनोरञ्जनको लागि ‘ज्वाइँ साब’ हेर्नुहोला,” जितुले आग्रह गरे।
जितुले आफूलाई जबरजस्ती हिरो नबनाइएको दाबी गर्दै भने, “म कहिल्यै हिरो हुनेछु भनेर सोचेको थिइनँ, तर यो मेरो सौभाग्य हो कि यस्तो भूमिका पाएको छु। म भविष्यमा पनि यस्ता भूमिका निभाउने छु भन्ने छैन, तर मलाई फिट हुने कुनै पनि भूमिका खेल्न तयार छु।”
निर्देशक वसन्त निरौलाद्वारा निर्देशित यो सिनेमामा जितु नेपालसँगै निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारहरूको पनि अभिनय छ।